तानसेन बजार घुम्न जानुपर्ने ७ कारण - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

तानसेन बजार घुम्न जानुपर्ने ७ कारण

तानसेन घमाइलो
जता निरमाया उतै रमाइलो
लोक गायक झलकमान गन्धर्वले पाल्पाको तानसेनको महिमा यत्तिकै गाएका हैनन् । प्राकृतिक सौन्दर्यको खानी त छँदै छ, सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण तानसेन पुग्दा जो-कोहीको मन चङ्गा हुन्छ ।
तानसेन बजार नेपालकै पुरानो नगरपालिकामध्येमा पर्छ । कुनै समय सेन राजाहरूको गढ रहेको यो ठाउँमा राणा शासकहरुले काठमाडौंबाट नेवार समुदायका कालिगढ लगेर शहरको मुहारै फेरेका थिए ।
यसैले तानसेनका गल्लीहरु चहार्दै गर्दा घरिघरि काठमाडौंको झल्को मिल्छ । असन, मखन टोल, वसन्तपुर, टुँडिखेल सबै भेटिन्छन् ।
प्रकृति र संस्कृतिले सम्पन्न तानसेन बजार केका लागि जाने त ? हामीले यहाँका थरीथरी विशेषताबाट केही कारण खोजेका छौं:

१.    मनमोहक दृश्य

तानसेनको आकर्षण हो रमणीय वातावरण । तानसेन बजार र आसपासका डाँडाकाँडाबाट मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अझ श्रीनगर डाँडा उक्लिने हो भने त सगरमाथा, कञ्चनजंघासहितको महालङ्गुर हिमशृङ्खला हेर्न पाइन्छ ।
तरेली परेका पहाडहरू देख्दा तपाईँलाई जति फोटो खिच्दा पनि मन अघाउने छैन ।
२.   नेवार बस्ती

तानसेन बजार कुनै समय नेवारहरुको बस्ती थियो भन्दा अहिले कतिपयलाई पत्याउन गाह्रो होला । किनकि यहाँ धेरैजसो नेवारी ढाँचाका घरहरु भत्काएर नयाँ पक्कीघरहरू बनाइएको छ । तर, शहरका केही भागहरूमा अझै पनि पुरानो शैलीका घरहरू देख्न सकिन्छ । बजारका पुराना गल्लीहरूमा डुल्दै गर्दा तपाईं यहाँ नेवारहरूको आगमन भएको दिनमा पुग्नुहुनेछ ।
३.   तानसेन दरबार

नेपालको इतिहासको महत्वपूर्ण घटनाको साक्षी रहेको तानसेन दरबार घुम्नैपर्ने ठाउँ हो । द्वन्द्वकालमा पूर्णरुपमा क्षति भएको दरबारको अहिले पुनर्निर्माण गरिएको छ । यस क्रममा पुरानो शैली र कलालाई कायमै राखिएको छ । पहिले दरबारमा सरकारी कार्यलयहरु थिए भने अहिले यसलाई संग्रहालयमा परिणत गरिएको छ ।
४.   ढाकाका कपडा र सरसामान

पाल्पाली ढाकाले नेपालमा मात्र नभई विदेशमा पनि ख्याति कमाएको छ । ढाकाबाट पहिले टोपी मात्रै बनाउने गरिन्थ्यो । तर, पछिल्लो समय लेडिज ब्याग, टाई, पर्स र कुर्ता-सलवार पनि बनाउन थालिएको छ । तानसेन बजारमा यी सबै तपाईं पाउन सक्नुहुन्छ । ढाकाका विविध डिजाइन र रङ हेर्न मात्र पनि पूरै दिन लाग्न सक्छ ।
५.  करुवा

तानसेन जाँदा तपाईंले चिनो र कोसेली स्वरुप करुवा ल्याउन सक्नुहुन्छ । पाल्पाली ढाका चर्चित हुनुअघि पाल्पाको पहिचान थियो, करूवा । हातले बनाएको करूवा गह्रौं र चम्किलो हुनुका साथै सक्कली पाल्पाली करूवा पुस्तौंसम्म पनि जस्ताको त्यस्तै रहन्छ । स्थानीय कालिगढहरुका अनुसार अहिले जम्मा तीन घरधुरीले मात्रै करूवाको काम गर्ने गर्छन् । यहाँ केही हजारदेखि लाखौं रुपैयाँ पर्ने करूवा पनि पाइन्छ ।
६.   अल्टोमा एड्भेन्च

डाँडाकाँडाको सयर गर्न एउटा राम्रो एसयूभी नै चाहिन्छ भनेर धेरैलाई लाग्दो हो । तर, पाल्पामा अल्टो गाडीमै मजाले धेरै ठाउँमा पुग्न सकिन्छ । यस्तो बाटोमा पनि अल्टो जाला र भनेर तपाईँको सोध्न नपाउँदै यहाँका ड्राइभरले गाडी हुँइक्याइसकेका हुनेछन् ।
७.  काठमाडौंको म:म: र सिज्लरको मजा

यदि तपाईँ खानाको सौखिन हुनुहुन्छ र पाल्पा घुम्न गएको बेला म:म: खान नपाइएला कि भन्ने पीरमा हुनुहुन्छ भने चिन्ता नगर्नुस् । काठमाडौंको नाम चलेको रेष्टुरेण्ट नाङ्लोको शाखा तानसेनमा पनि छ । त्यहाँ म:म: र सिज्लरको मजा लिन सक्नुहुन्छ । खानामा धेरै विकल्प रोज्न नचाहनेका लागि पनि यहाँको दाल-भात उपयुक्त छ ।
कसरी जाने ?
काठमाडौंको नयाँ बसपार्कबाट आधा दर्जनभन्दा बढी बस दिनहुँ बुटवल हुँदै तानसेन पुग्छन् । बसपार्कमै टिकट काउण्टर छ । १० देखि १२ घण्टामा तानसेन पुगिन्छ । रातको समय यात्रा गर्दा राजमार्गमा हुने जामलाई छल्न सकिन्छ ।
कहाँ बस्ने ?
तानसेनमा बास बस्ने थुप्रै होटल छन् । त्यीमध्ये ‘पाल्पाली छे:’, ‘इन्द्रेणी’, ‘ह्वाएट लेक’ र ‘क्राउन’ नाम चलेका होटल हुन् । धेरैजसो होटलले बिहानको नास्ता मात्रै उपलब्ध गराउँछन् । गाउँघरको बसाइमा रमाउन चाहनेका लागि यहाँ ‘होमस्टे’ को पनि व्यवस्था छ ।

स्राेत ः http://www.onlinekhabar.com/2017/03/549984/

Post Top Ad