फुटबलमा नेपाललाई २३ वर्षपछि उपाधि - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

फुटबलमा नेपाललाई २३ वर्षपछि उपाधि

बांग्लादेशको राजधानी ढाकामा भएको खेलमा बहराईनलाई हराउँदै नेपालले झण्डै अढाई दशकपश्चात अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको छ।
नेपालको जितमा नवयुग श्रेष्ठले २ तथा विमल घर्तीमगरले १ गोल गरेका हुन्। बहराईनले कुनै गोल गर्न सकेन।

ऐतिहासिक सफलता
जितपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबलले ऐतिहासिक सफलता पाएको भनी प्रतिक्रिया दिए।
उनले भने, "हामीले अर्को इतिहास रचेका छौं। यो जितको नेपाली फुटबललाई निकै जरुरी थियो।"
पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका रक्षक कप्तान विराज महर्जनले यो सफलता सबै खेलाडीहरुको मेहनत र प्रशिक्षकको सही निर्देशनको फल भएको बताए।
"हामी यहाँ सेमिफाइनल पुग्ने लक्ष्यका साथ आएका थियौं। फाइनल पुगेपछि भने हाम्रो लक्ष्य उपाधि नै जित्नु थियो," उनले भने।
नेपालले यसअघि सन् १९९३ मा ढाकाको यही बंगबन्धु रंगशालामा भारतलाई हराई दक्षिण एशियाली खेलकूदको च्याम्पियन बनेको थियो।



संयोग के रह्यो भने सो बेला खेलाडीका रुपमा नेपाललाई स्वर्ण जिताउने बालगोपाल महर्जन र उपेन्द्र मान सिंह यो प्रतियोगितामा मुख्य प्रशिक्षक र प्रशिक्षकका रुपमा रहेका छन्।
विभिन्न ८ टोली सहभागी यस प्रतियोगितामा नेपालले १ गोल खाएको थियो भने ८ गोल गरेको थियो।
सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४-१ ले हराएको थियो। उसले लिग चरणमा श्रीलंकालाई हराएको थियो भने बांग्लादेशलाई बराबरीमा रोकेको थियो।
उपाधि सहित नेपालले ५० हजार अमेरिकी डलर पनि जितेको छ।
नयाँ युग
करिब चार महिना अगाडी नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सहित तीन खेलाडीमाथि अन्तर्राष्ट्रिय खेलमा खेल मिलेमतो गरेको आरोप लागेको थियो।
उनीहरु विरुद्ध हाल अदालतमा मुद्दा चलिरहेको छ। यसबीच अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई समेत फिफाले आर्थिक अनियमितताको मामिलामा मुछिएको भन्दै १० वर्ष प्रतिबन्ध लगाएको छ।
हालको नेपालको फुटबल टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ।बीबीसी

Post Top Ad