March 2017 - पाल्पा अन्लार्इन

Top News



Post Top Ad

पत्रकार महासङ्घ पाल्पामा अर्याल

7:15 AM
२९ फागुन
रामपुर (पाल्पा) – नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित भएका छन् ।
अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्षमा निर्वाचित थिए ।
शनिवार राति अबेरसम्म भएको अधिवेशनले महासङ्घका खुल्ला उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा मुना घिमिरे, सचिवमा किरण कौशल तथा सहसचिवमा कृष्ण कार्की र अनिल लिगल, कोषाध्यक्षमा नरभूपाल विक रहेका छन् ।
त्यस्तै सदस्यमा कृष्ण पोखरेल, चूरामणि न्यौपाने, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, मुक्तिप्रसाद न्यौपाने, दुर्गेश मल्ल, डोलबहादुर विक, सिर्जना घिमिरे, रीमा सोमै र हरिबहादुर विक चयन भएका छन् ।
केन्द्रीय पार्षदतर्फ सोमनाथ अर्याल, मेघराज शर्मा, कमलराज तिमिल्सेना, भगवान भण्डारी, राजेन्द्र लिगल, माधव अर्याल, जगदीश भट्टराई, मन गैरे, वन्दना पोखरेल, रेखिराम राना र देव पचभैया रचयन भएका छन् ।
प्रदेश सभासद्तर्फ राजु घिमिरे, झवेन्द्र देवकोटा, राजकुमार आले, किशोर भट्टराई, सीतादेवी डोटेल, पदमप्रसाद गैरे, शङ्कर भण्डारी, टीकाराम बस्याल, झपेन्द्र गैरे, दयाराज न्यौपाने, गीता ज्ञवाली, गुराँस आत्रेय, यमुना सारु, कृष्ण दर्नाल र अमृत अधिकारी चयन भएका छन् ।
रासस
Read More

​गाउँपालिका र नगरपालिकामा जनप्रतिनिधि कसरी निर्वाचित हुन्छन्? जान्नै पर्ने तथ्य

7:14 AM

काठमाडौः नेपालमा स्थानीय जनप्रतिनिधिले केन्द्रीय संसद्को माथिल्लो सदन् 'राष्ट्रिय सभा'मा उम्मेद्वार बन्ने तथा मतदान गर्ने अधिकारसहितको अधिकारसम्पन्न स्थानीय तहको चुनाव आगामी वैशाख ३१ गते हुँदैछ।

आगामी २०७४ साल वैशाख ३१ मा हुने चुनावले स्थानीय तहमा जनप्रतिनिधि दिने मात्र नभई स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै केन्द्रसम्मको प्रत्यक्ष पहुँचसमेत स्थापित गर्नेछ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभा गठनका लागि निर्वाचक मण्डल (इलेक्टोरल कलेज)को भूमिका निर्वाह गर्नेछन् भने राष्ट्रपति निर्वाचनमा पनि त्यही भूमिका स्थानीय तहका जनप्रतिनिधिलाई हुने छ। भलै त्यसलाई सच्याउन संविधान संशोधन गर्नुपर्ने माग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरिरहेको छ।

यति महत्वपूर्ण स्थानीय तहका प्रतिनिधि निर्वाचित कसरी हुन्छन्?

स्थानीय तह अन्तर्गत गाउँ सभा, गाउँ कार्यकारी, नगर सभा, नगर कायर्कारी र जिल्ला समन्वय समिति पर्छन्। ती निकाय मध्ये गाउँसभा र नगरसभा जनताको प्रत्यक्ष निर्वाचनबाट गठन हुन्छ्न् भने गाउँ कार्यकारिणी, नगर कार्यकारिणी र जिल्ला समन्वय समिति जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट निर्वाचित हुन्छन्।

गाउँपालिका

संविधानले गाउँपालिकामा कम्तिमा सात वडा रहने व्यववस्था गरेको छ। त्यही अनुरुप स्थानीय तह निर्धारण आयोगले स्थानीय तहको व्यवस्था गरेको छ। जसमा प्रत्येक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुन्छन् भने जनसंख्याका आधारमा निर्धारण भएका प्रत्येक वडाबाट एक वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुन्छन्।

चार सदस्य मध्ये दुई खुल्ला हुन्छन् भने दुई महिला हुन्छन्। संविधानले वडा सदस्यमा दुई महिला निर्वाचित हुने व्यवस्था गरे पनि स्थानीय तह निर्वाचन ऐनले एक दलित हुने र दलित प्रतिनिधि नभएमा एक पद खाली रहने व्यवस्था गरेको छ।

त्यसरी कम्तिमा सात वडा हुने गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष गरी दुई जना, प्रत्येक वडाबाट अध्यक्षसहित पाँच जना गरी ३५ जनागरी ३७ जनाको सभा गठन हुन्छ।

त्यसरी गठन भएको गाउँसभाले १५ दिनभित्र बैठक बसी गाउँपालिका भित्र बस्ने नागरिक मध्येबाट दुई जना दलित वा अल्पसंख्यकलाई निर्वाचित गर्छ।

यस विधिबाट न्युनतम सात वडा हुने गाउँपालिकामा ३९ सदस्यीय गाउँसभा कायम हुन्छ। त्यस भन्दा ठूलो गाउँपालिकाका हकमा भने वडाको संख्याका आधारमा पाँच जनाका दरले प्रतिनिधिको संख्या बढी हुन आउँछ।  


गाउँ कार्यकारी

गाउँसभाको निर्वाचन भएपछि गठित गाउँसभाबाट नै गाउँ कार्यकारीको चयन हुन्छ। गाउँ कार्यकारीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रत्येक वडाका अध्यक्षहरु, वडासदस्यमा निर्वाचित महिला मध्येबाट चारजना महिला र गाउँसभाले निर्वाचित गरेका दलित तथा अल्पसंख्यक गरी सात वडा भएको गाउँपालिकामा ९ सदस्यीय गाउँकार्यकारी गठन हुन्छ।

स्थानीय सरकारमा रुपमा गठन भएका गाउँपालिकामा गाउँ कार्यकारीले स्थानीय संसदको भूमिका निर्वाह गर्ने छ।

नगरपालिका

कम्तिमा नौ वडा रहने नगरपालिकामा पनि एक प्रमुख र एक उपप्रमुख प्रत्यक्ष निर्वाचित हुन्छन्। त्यस्तै प्रत्येक वडामा एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुन्छन् भने ती वडा सदस्य मध्ये एक दुई महिला हुन्छन् र महिला मध्ये पनि एक दलितलाई अनिवार्य गरिएको छ।

त्यसरी न्यूनतम नौ वडा भएको नगरपालिकामा प्रमुख र उपप्रमुख गरी दुई, प्रत्येक वडाका अध्यक्षसहित ४५ जना गरी ४७ जनाको नगरसभा गठन हुन्छ।

त्यसरी निर्वाचित भएको नगरसभाले १५ दिन भित्र बैठक बसी दलित वा अल्पसंख्यकबाट निर्वाचति हुने सदस्यको निर्वाचनका लागि मिति तोक्छ।

नगरभित्रका दलित वा अल्पसंख्यकले उम्मेद्वार बन्न पाउने त्यो चुनावमा निर्वाचित नगरसभाले मात्र मतदानको अधिकार पाउने छ।
त्यसरी निर्वाचित दलित वा अल्पसंख्यकसहित नगरसभा ४९ जनाको हुनेछ। त्यस भन्दा ठुलो नगरपालिकाको हकमा नगरपालिकाको आकारका आधारमा वडा अनुसार पाँच जनाका दरले संख्या बढ्ने हो। 

नगर कार्यकारी

नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख, प्रत्येक वडाका अध्यक्ष र उपाध्यक्ष तथा प्रत्येक वडबाट निर्वाचित महिला मध्ये पाँच जना निर्वाचित भएको नगर कार्यकारी गठन हुन्छ। त्यसरी गठन हुने नगर कार्यकारी न्यूनतम नौ वडा भएका नगरपालिकामा १६ सदस्यीय हुन्छ।  
source : pahilopost.com
Read More

पाल्पामा घरेलु उद्योग बढे

7:11 AM
पाल्पा- जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३÷७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् ।
उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ दुईवटा उद्योग दर्ता भएको कार्यालय प्रमुख बालकृष्ण गैरेले बताउनुभयो । जिल्लामा यस आवमा साझेदारी र प्राइभेट लिमिटेडतर्फ गरी एक सय ४९ पुरुष र २३ महिलाको नाममा उद्योग दर्ता भएका छन् ।
गत वर्ष उत्पादनमूलक ४३, कृषि तथा वनजन्यमूलक ८६, पर्यटन ६२, सेवामूलक ६७ गरी जम्मा दुई सय ५८ उद्योग थिए ।
वाणिज्यतर्फ यस आवको माघ मसान्तसम्ममा दुई सय ७० वटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा रु १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ । खारेजी भएका २७ वटा उद्योगबाट रु दुई हजार सात सय राजस्व आम्दानी भएको कार्यालयका कर्मचारी दिनेश बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौराननब्बे वटा संशोधन उद्योगबाट रु तीन लाख ७९ हजार सात सय पाँच, तीन सय १० नवीकरण उद्योगबाट रु नौ लाख ९७ हजार एक सय राजस्व आम्दानी भएको छ ।
यस आवको हालसम्ममा वाणिज्यतर्फ २६ लाख नौ हजार तीन सय पाँच र उद्योगबाट रु १७ लाख ५० हजार बराबरको आम्दानी भएको छ ।
रामपुरमा सेवा विकास बैंक स्थापना
जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा सेवा विकास बैंक लिमिटेडले आफ्नो सोह्रौँ शाखा कार्यालय स्थापना गरेको छ ।
नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक वासुदेव अधिकारीले सो बैंक उद्घाटनगरे ।
बैंक उद्घाटनका अवसरमा तीन सय ५० वटा नयाँ खाता खोली एक करोड ३६ लाख निक्षेप सङ्कलन भएको बैंकका महाप्रबन्धक हरिप्रसाद लम्सालले बताए ।
रासस
Read More

यसरी जाँदैछन् नगर तथा गाँउपालिकामा नयाँ कार्यकारी प्रमुख

7:09 AM
काठमाडौं – सरकारले २ दिनभित्र स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत खटाउने तयारी गरेको छ । चैत ३ गतेबाट स्थानीय निकायको जिम्मेवारी सम्हाल्ने गरी गाउपालिकाहरुमा प्रमुख कार्यकारी अधिकृतहरुलाई सरकारले खटाइसक्नेछ ।
गत फागुन २७ गते स्थानीय तह भंग भएर नयाँ संरचना कायम भएसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाँउपालिकामा कार्यकारी अधिकृत खटाँउन लागेको हो ।
यसका लागि मन्त्रालयको कर्मचारी प्रशासनले अन्तिम तयारी थालेको छ ।
४ वटा महानगरपालिकामा ४ उपसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाँउपालिकामा शाखा अधिकृतको नेतृत्वमा कार्यकारी अधिकृत खटिँदैछन् ।
काठमाडौं महानगरपालिका बाहेकका अन्य ३ महानगरपालिकाका कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयबाट ३ सह–सचिवको माग गरिएको छ ।
कूल ७ सय ४४ स्थानीय तहका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्कालका लागि आवश्यकता पूर्तिका लागि १ सय ९६ उपसचिव माग गरेको थियो । तर सामान्य प्रशासन मन्त्रालयले ८० उपसचिव र २ सय शाखा अधिकृतको व्यवस्था गरेको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा कर्मचारीको मेला : काठमाडौं सबैको रोजाई
स्थानीय तहको पूरानो संरचना भंग भएसँगै कर्मचारीहरु पनि ब्यापक रुपमा फेरबदल हुने भएका छन् । उपमहानगरपालिका, नगरपालिका तथा गाँउपालिकामा नेतृत्व गर्न जाने कर्मचारी यतिबेला मन्त्रालयमा गएर आफुलाई पायक पर्ने ठाँउमा जान नाम ठेगाना टिपाइरहेका छन् । उनीहरुमध्ये अधिकांशको रोजाई काठमाडौं उपत्यका भएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले बताए ।
काठमाडौं उपत्यकाको विकल्पमा उनीहरुले सडक सञ्जालले छोएका जिल्लाहरु रोजेका छन् । काठमाडौं पछि तनहुँ, कास्की, चितवन, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापा लगायतका जिल्ला रोजेका छन् ।
उनीहरुले नाम टिपाएसँगै गाँउपालिका नगरपलिका प्रमुखको छनौंट प्रक्रिया शुरु भएको हो । बुधबार सम्म छनौट गरेर ३ गतेदेखि कर्मचारीहरुले आफ्नो निकायको जिम्मेवारी सम्हालनेछन् । यसअघि नै गठन भएका नगरपालिकामा भने पूरानै कर्मचारी टिमले काम गर्नेछन् ।
सेटिङमा सांसददेखि कर्मचारीसम्म
मंगलबार संघीय समाजबादी फोरम नेपालका सांसद शीवजी यादव शाखा अधिकृत आफ्नी छोरीलाई सुविधाजनक ठाँउमा सरुवा गराँउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पुगेर कर्मचारीहरुलाई भनसुन गरिरहेका भेटिए ।
अन्य मन्त्रालयमा काम गर्ने कर्मचारीहरु पनि आफ्ना चिनजानका कर्मचारीलाई सुविधाजनक क्षेत्रमा सरुवा गर्नका लागि मन्त्रालय धाइरहेका देखिन्थे ।
गाँउपालिकामा अधिकृत खटाँउन नसकिएको अवस्थामा सोही कार्यालमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने तयारी भएको मन्त्रालयका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।
नयाँ संरचनाको एक स्थानीय तहमा कति कर्मचारी चाहिन्छ भन्ने एकीन नभएपनि संविधानले दिएको अधिकार र काम अनुसार कर्मचारीको व्यवस्था गर्ने तयारी छ । अहिले संक्रमणकालीन अवस्था भएकोले कर्मचारीहरुले गरेको काम र सेवाग्राहीले सेवा पाउने अवस्थाको अध्ययन गरी पछि कर्मचारीको ठोस संख्या निर्धारण गरिने भएको हो ।
जिविस बन्यो जिल्ला समन्वय समिति
स्थानीय तहको पूरानो संरचना भंग भएसँगै ७५ जिल्ला विकास समितिहरु जिल्ला समन्वय समितिमा रुपान्तरण भएका छन् । यो समितिले अव जिल्लामा रहेका गाँउपालिका, नगर, उपनगर र महानगरपालिकाको विकास निमार्णको काममा सहजीकरण गर्ने भएको छ । यद्यपी यसअघिको जिल्ला विकास समितिको जति अधिकार भने नरहने भएको छ ।
स्थानीय निकायको निर्वाचन गराउन करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि निजामती र सङ्घसंस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई समेत खटाउने तयारी भएको छ ।
Read More

हेर्नुहाेस्, तपाइ पाल्पा जिल्लाकाे कुन स्थानिय निकायमा पर्नुभयाे

7:09 AM
फागुन २८, पाल्पा ,
               नेपाल सरकारले यही फागुन २७ गते अहिलेका सम्पूर्ण स्थानिय तह खारेज हुने गरी देशभर नगरपालिका र गाउँपालिका गरी  ७४४ वटा स्थानिय तह राजपत्रमा अन्कित गरेकाे छ। जस अनुरूप हालका नगरपालका र गाविसहरू खारेज भइ नयाँ स्थानिय तह लागु भइसकेका छन् ।यसैविच पाल्पा जिल्लामा पनि २ नगरपालिका र ८ गाँउपालिका सहितकाे १० वटा स्थानिय तह रहेकाे छ । पाल्पा जिल्लाकाे स्थानिय तहकाे सम्पूण् विवरण तल हेर्नुहाेस् ः


Read More

प्याराग्ल्याईडिङ्ग गर्दा हाइटेन्सन लाइनमा अल्झिए पछि (भिडियोसहित )

5:50 AM
पाल्पा, फागुन २० – प्याराग्ल्याईडिङ्गको क्रममा  हाइटेन्सन लाइनमा ढेड  घण्टा अल्झिएका चिदिपानी–५ पाल्पाका ३० वर्षका नवराज बस्याललाई नयाँ जिवन पाएको भन्दै बधाई आइरहेको छ ।
गएको शुक्रबार तानसेनको बतासेडाँडामा प्याराग्ल्याईडिङ्गक्रममा हावाको गतिले एकातिर फालेपछि बिजुलीको हाइटेन्सन लाइनमा ढेड झण्डा झुण्डिएको बस्यालले जानकारी दिनुभयो । स्थानीयले तारमा मान्छे झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरे ।  बिजुलीको लाइन काट्न लगाए ।
घाँटी, हात र शरीरका बिभिन्न स्थानमा करेन्टले पोलिएका बस्यालले भगवानको कृपाले आफू बाँचेको उज्यालोलाई प्रतिकृया दिनुभयो । उपचारपछि  घर फर्किनुभएका बस्याललाई अहिले साथीभाइ र छिमेकी बधाई दिन घरमै आएका छन् । 

स्राेत ः http://ujyaaloonline.com/news/71725/palpa/

Read More

तानसेन बजार घुम्न जानुपर्ने ७ कारण

5:47 AM
तानसेन घमाइलो
जता निरमाया उतै रमाइलो
लोक गायक झलकमान गन्धर्वले पाल्पाको तानसेनको महिमा यत्तिकै गाएका हैनन् । प्राकृतिक सौन्दर्यको खानी त छँदै छ, सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण तानसेन पुग्दा जो-कोहीको मन चङ्गा हुन्छ ।
तानसेन बजार नेपालकै पुरानो नगरपालिकामध्येमा पर्छ । कुनै समय सेन राजाहरूको गढ रहेको यो ठाउँमा राणा शासकहरुले काठमाडौंबाट नेवार समुदायका कालिगढ लगेर शहरको मुहारै फेरेका थिए ।
यसैले तानसेनका गल्लीहरु चहार्दै गर्दा घरिघरि काठमाडौंको झल्को मिल्छ । असन, मखन टोल, वसन्तपुर, टुँडिखेल सबै भेटिन्छन् ।
प्रकृति र संस्कृतिले सम्पन्न तानसेन बजार केका लागि जाने त ? हामीले यहाँका थरीथरी विशेषताबाट केही कारण खोजेका छौं:

१.    मनमोहक दृश्य

तानसेनको आकर्षण हो रमणीय वातावरण । तानसेन बजार र आसपासका डाँडाकाँडाबाट मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अझ श्रीनगर डाँडा उक्लिने हो भने त सगरमाथा, कञ्चनजंघासहितको महालङ्गुर हिमशृङ्खला हेर्न पाइन्छ ।
तरेली परेका पहाडहरू देख्दा तपाईँलाई जति फोटो खिच्दा पनि मन अघाउने छैन ।
२.   नेवार बस्ती

तानसेन बजार कुनै समय नेवारहरुको बस्ती थियो भन्दा अहिले कतिपयलाई पत्याउन गाह्रो होला । किनकि यहाँ धेरैजसो नेवारी ढाँचाका घरहरु भत्काएर नयाँ पक्कीघरहरू बनाइएको छ । तर, शहरका केही भागहरूमा अझै पनि पुरानो शैलीका घरहरू देख्न सकिन्छ । बजारका पुराना गल्लीहरूमा डुल्दै गर्दा तपाईं यहाँ नेवारहरूको आगमन भएको दिनमा पुग्नुहुनेछ ।
३.   तानसेन दरबार

नेपालको इतिहासको महत्वपूर्ण घटनाको साक्षी रहेको तानसेन दरबार घुम्नैपर्ने ठाउँ हो । द्वन्द्वकालमा पूर्णरुपमा क्षति भएको दरबारको अहिले पुनर्निर्माण गरिएको छ । यस क्रममा पुरानो शैली र कलालाई कायमै राखिएको छ । पहिले दरबारमा सरकारी कार्यलयहरु थिए भने अहिले यसलाई संग्रहालयमा परिणत गरिएको छ ।
४.   ढाकाका कपडा र सरसामान

पाल्पाली ढाकाले नेपालमा मात्र नभई विदेशमा पनि ख्याति कमाएको छ । ढाकाबाट पहिले टोपी मात्रै बनाउने गरिन्थ्यो । तर, पछिल्लो समय लेडिज ब्याग, टाई, पर्स र कुर्ता-सलवार पनि बनाउन थालिएको छ । तानसेन बजारमा यी सबै तपाईं पाउन सक्नुहुन्छ । ढाकाका विविध डिजाइन र रङ हेर्न मात्र पनि पूरै दिन लाग्न सक्छ ।
५.  करुवा

तानसेन जाँदा तपाईंले चिनो र कोसेली स्वरुप करुवा ल्याउन सक्नुहुन्छ । पाल्पाली ढाका चर्चित हुनुअघि पाल्पाको पहिचान थियो, करूवा । हातले बनाएको करूवा गह्रौं र चम्किलो हुनुका साथै सक्कली पाल्पाली करूवा पुस्तौंसम्म पनि जस्ताको त्यस्तै रहन्छ । स्थानीय कालिगढहरुका अनुसार अहिले जम्मा तीन घरधुरीले मात्रै करूवाको काम गर्ने गर्छन् । यहाँ केही हजारदेखि लाखौं रुपैयाँ पर्ने करूवा पनि पाइन्छ ।
६.   अल्टोमा एड्भेन्च

डाँडाकाँडाको सयर गर्न एउटा राम्रो एसयूभी नै चाहिन्छ भनेर धेरैलाई लाग्दो हो । तर, पाल्पामा अल्टो गाडीमै मजाले धेरै ठाउँमा पुग्न सकिन्छ । यस्तो बाटोमा पनि अल्टो जाला र भनेर तपाईँको सोध्न नपाउँदै यहाँका ड्राइभरले गाडी हुँइक्याइसकेका हुनेछन् ।
७.  काठमाडौंको म:म: र सिज्लरको मजा

यदि तपाईँ खानाको सौखिन हुनुहुन्छ र पाल्पा घुम्न गएको बेला म:म: खान नपाइएला कि भन्ने पीरमा हुनुहुन्छ भने चिन्ता नगर्नुस् । काठमाडौंको नाम चलेको रेष्टुरेण्ट नाङ्लोको शाखा तानसेनमा पनि छ । त्यहाँ म:म: र सिज्लरको मजा लिन सक्नुहुन्छ । खानामा धेरै विकल्प रोज्न नचाहनेका लागि पनि यहाँको दाल-भात उपयुक्त छ ।
कसरी जाने ?
काठमाडौंको नयाँ बसपार्कबाट आधा दर्जनभन्दा बढी बस दिनहुँ बुटवल हुँदै तानसेन पुग्छन् । बसपार्कमै टिकट काउण्टर छ । १० देखि १२ घण्टामा तानसेन पुगिन्छ । रातको समय यात्रा गर्दा राजमार्गमा हुने जामलाई छल्न सकिन्छ ।
कहाँ बस्ने ?
तानसेनमा बास बस्ने थुप्रै होटल छन् । त्यीमध्ये ‘पाल्पाली छे:’, ‘इन्द्रेणी’, ‘ह्वाएट लेक’ र ‘क्राउन’ नाम चलेका होटल हुन् । धेरैजसो होटलले बिहानको नास्ता मात्रै उपलब्ध गराउँछन् । गाउँघरको बसाइमा रमाउन चाहनेका लागि यहाँ ‘होमस्टे’ को पनि व्यवस्था छ ।

स्राेत ः http://www.onlinekhabar.com/2017/03/549984/
Read More

Post Top Ad